आइपिओ रिजल्ट हेर्न बन्यो छुट्टै वेबसाइट

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आईपीओ) बाँडफाँडको नतिजा हेर्न छुट्टै वेबपोर्टल बनाएको छ । सीडीएसले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँट (आईपीओ) को नतिजा हेर्न मिल्ने नयाँ वेवपोर्टल शनिबार सार्वजनिक गरेको छ ।

शुक्रबार बाँडफाँड नतिजा सार्वजनिक गरिएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडको नतिजा हेर्न समस्या भएपछि सीडीएससीले छुट्टै वेबपोर्टल बनाएको हो । यससँगै अबदेखि फरक फरक वेबसाइट चहार्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सीडीएसले गोपनीयताको कारण देखाउँदै आईपीओ नतिजा तीन ठाउँबाट (मेरो शेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धको वेबसाइट) हेर्न मिल्ने व्यवस्था गरिएको थियो । यो व्यवस्था भन्दा पहिला विभिन्न अनलाइन सञ्चारमाध्यमले समेत आईपीओको नतिजा सार्वजनिक गर्ने गरेका थिए । यससँगै आईपीओको नतिजा अबदेखि आईपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपीमा गएर आफ्नो नतिजा हेर्न सकिनेछ ।

शुक्रबार सीडीएससीले भनेको तीन वटा वेबसाइटमा आईपीओ नतिजा हेर्ने लगानीकर्ताको चाप बढ्दा तीनवटै वेबसाइटले काम गर्न सकेको थिएन, जसकारण लगानीकर्ताहरू आक्रोशित बनेका थिए । यहि समस्यालाई मध्यनजर गर्दै छुट्टै वेबपोर्टल बनाएको सीडीएसले जनाएको छ ।

यसमा सार्वजनिक निष्काशनको नतिजा मात्र राखिने र यो पोर्टल सुरक्षित, छरितो र धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दासमेत सहजरूपमा सञ्चालन गर्न सकिने गरी उच्च क्षमतामा तयार गरिएको सीडीएससीको दाबी छ ।

यस्तै शुक्रबार मेरो शेयर नचल्दा ईडीआइएस सेवा प्रभावित भएकाले सोको अवधि फागुन १६ गते बिहान ७ बजेसम्म कायम गरिएको सीडीएससीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*